कथा – ना २ ख ४३१७

ऊ रातका अन्तिम प्रहरमा खुइय सुस्केरा काड्दै भन्छ, ‘मलाई थाहा छ, म तँलाई माया गर्दिनँ । तर, एउटा प्रश्नले मलाई पिरोल्छ सधैं, तँ मलाई माया गर्छेस् कि गर्दिनस् ?’

म उत्तर खोज्छु, भेट्दिनँ । अनि जवाफ फर्काउँछु, ‘मैले माया के हो, कहिल्यै थाहा पाइनँ । मैले त जे गरेँ, मात्र सम्झौता गरेँ !’

सडक विभागले मेरो झ्यालबाट बाहिर देखिने बाटोमा खासै ध्यान दिँदैन । उनीहरूको हजार किलोमिटरमा ती केही मिटरले कति नै महत्त्व राख्लान् र ! तर मेरो त परिधि नै त्यही । बाटो धूले भएको छ । मेरो जीवनमा पनि धूलोले मन छोपिदिएको छ । म मन खोजिरहन्छु, धूलोमात्र फेला पर्छ । तल खोला सुसाउँछ, त्यो सुसेलीले मलाई बोलाएझैँ लाग्छ । मेरा दिनहरू याद दिलाउँछ । पछाडिबाट केटाहरू सुसेली बजाउँथे, खोई के देखेर पो बजाउँथे ! एक मनले रिस उठ्थ्यो, एक मनले गर्व लाग्थ्यो – केही देखेर न बजाउँथे । म पछाडि फर्केर रिसाइदिए जस्तो गर्थेँ । अनि मनमनैँ मुस्कुराउँदै अघि बढ्थेँ । अहिले सोच्छु – समय त्यहीँ अड्किए कति जाती हुन्थ्यो । तर, समयका आफ्नै नियम छन् । अटेर हुनु उसको यथार्थ हो ।

मेरो घरको टिनको छानो पानी पर्दा अनवरत कराइरहन्छ । म त्यसलाई सुनेर बस्छु । जब-जब पानी पर्छ, मलाई धुर्वेको याद आउँछ । उसको ना २ ख ४३१७ ग्यासका सिलिन्डर काठमान्डू पुर्‍याउन यही बाटो आउँछ । मलाई हरेक ट्रकमा उही छ जस्तो लाग्छ । पानी परेको रात त झन् उसको याद गहिरिन्छ । तलको खोलाको सुसेली उसका सुस्केरा जस्ता लाग्छन् । सामान्यतया उसको ट्रक हफ्ताको दुईचोटि यो बाटो कुद्छ । मेरो जीवन – लाग्छ त्यही ट्रकका पांग्राको भरमा रोमाञ्चक यात्रा गरिरहेछ । उसले ट्रकको अघिल्लो भागमा अरु ट्रक ड्राइभरजस्तै नक्कल गरेर कागती र खुर्सानी झुन्ड्याएको छ । कसैको आँखा नलागोस् भनेर गरेको अरे ! मेरा आँखा भने उसैमा लागिरहन्छन् । पछिल्लोचोटि कागती कालो भइसकेको देखेकी थिएँ । त्यसको शक्ति क्षीण हुँदैछ शायद !

********************

धुर्वेले किन्दिएको मोबाइल आज बज्यो । ऊ आज राति आउँछ । मेरो मन फेरि खुशी भयो । छुँदा चल्ने मोबाइलले मेरो औँलामा नै काउकुती लागेजस्तो भएको थियो ।

‘कस्तो मोबाइल किन्दिस् हौ, कहिले उठाउन नजान्ने, कहिले काट्न नजान्ने,’ मैले मनमनै खुशी हुँदै भनेकी थिएँ ।

“तैँले छोएपछि मोबाइललाई पनि काउकुती लाग्यो होला नि त,” उसले पनि मलाई अँगालोमा बेर्दै भनेको थियो ।

‘मलाई मात्रै किन्दिन्छस्, घरमा बूढी, छोरीलाई केही लग्दिन्नस् काठमान्डूको चिनो ?’

मलाई लाग्यो – बेकारमा सोधेँ यो प्रश्न । किन कोट्याइदिएँ उसको स्वास्नीप्रेमलाई – मेरो तातोमा बसेको बेला !

उसको माया त ओदाने माया हो, तीनतिर फर्केको ! बेकारमा एउटा खुट्टो अर्कोमा जोडिदिएँ !

उसको मौनता चिच्याएर भन्छ, ‘म तँलाई माया गर्दिनँ मेरी स्वास्नी जत्ति, मेरी छोरी जत्ति !’

म दोधारमा पर्छु ! के हो त यो ? जब सम्बन्धका नाम हुन्नन्, तब सम्बन्ध जटिल हुन्छ । खोइ केले पो बाँधेको छ हामीलाई ! टाँसिन्छौं, थाकेर छुट्टिन्छौँ ! फेरि टाँसिन्छौं अनवरत !

धेरैजसो ऊ मेरो छेउमै बस्छ । अनि मेरै दोकानमा बेच्न राखेको रक्सीका बोतलहरू खोल्छ ! तातो पानी मिसाउँछ । सुरुप्प पार्छ, मेरै छेउमा ! उसको रक्सीको लतले गर्दा नै हो ऊ मेरो नजिक भएको ! तर पनि मलाई उसले रक्सी खाएको मन पर्दैन । ऊ खराब लतमा नपरोस् भन्ने लाग्छ एक मनले । त्यो मन उसको लागि म राम्रो लत हुँ वा खराब लत भने छुट्याउन मान्दैन ।

‘मैले भनेको मान्छस् भने रक्सी छोड्दे,’ म उसलाई भनिरहन्छु ।

‘तेरै व्यापार चौपट हुन्छ भनेर डर लाग्छ, नत्र त उहिल्यै छोड्दिन्थें,’ धुर्वे खिस्स हाँस्छ । अँध्यारोमा सामान्यतया म उसको हाँसेको अनुहार देख्दिनँ । मात्र अनुमान लगाउँछु । जीवन अनुमान लाउँदा लाउँदै बितेको छ मेरो !

‘जा नुहाएर आइज, गन्दे मोरो,’ सर्ट खोल्नेबित्तिकै पसिनाको गन्ध मैले सहन सकिनँ । गन्जी पनि कालो, रातभर नै निसास्सिएला भन्ने पीर भयो मलाई ! त्यसै त एउटा मात्र कोठा, त्यसमाथि एउटै खाटमा कम्तीमा सात घण्टा !

‘कति कराउँदी रछे, तौलिया दे न त,’ उसले नाक खुम्च्याउँदै भन्यो ।

अघिल्लोचोटि उसले छोडेको तौलिया मैले सम्हालेर राख्देकी थिएँ । मेरा सम्झना जस्तै पोको पारेर ।

‘ला तेरो अस्तिसम्मको पैसा तिरें मैले,’ उसले मलाई ३ हजार दिँदै भन्यो !

मैले हिजोमात्र हिसाब गरेकी थिएँ – १९ सय भएको थियो खर्च ! अर्को हजार किन त ? मैले शरीर बेचेकी हैन ! उसलाई चिथोर्न मन लाग्छ कहिलेकाहीँ, जब ऊ मलाई बढी – बढी पैसा दिन्छ ।

‘२ हजार पनि पुगेको छैन, यो अर्को हजारको नोट किन ?’ म थोरै बटारिएँ ।

‘राख् न राख्, तेरो पनि घर खर्च टर्छ !’ उसले कपाल कन्याउँदै सधैंजस्तै बहाना बनाइदियो ।

‘एक्लो ज्यानलाई के घर भन्छस् !’

‘बना न त दुक्लो ज्यान !! बिहे गर, घर बना !’ उसले स्टोभमा चुरोट झोस्दै निरस उत्तर फर्कायो ।

मैले उसको अनुहार हेरेँ ! मलाई गिज्याएझैँ लाग्यो । लाग्यो – ऊ मबाट टाढा हुने बहानाहरू खोजिरहन्छ । तर, आफू टाढा हुन भने सक्दैन । म टाढिदिए उसलाई पनि सजिलो हुन्थ्यो जस्तो गर्छ । मलाई चस्स बिझ्छ । म उसको घरबार राम्ररी नै चलोस् भन्ने चाहन्छु । उसकी स्वास्नीसँग मेरो कुनै वैर छैन, उसकी छोरीको फोटो मैले देखेकी छु, चिटिक्क परेकी छे – पुतलीजस्ती । मलाई त्यो सानी छोरीले उसको बाउ अर्कै आइमाईसँग सल्किएको थाहा पाओस् भन्ने पनि छैन । तर, पनि म उसको नाउमा छिद्र खोज्छु । लाग्छ – यात्रा टुंगियोस्, डुबौं हामी दुबै बर्बाद भएर । त्यसरी मात्र भेट्टाउनेछु मैले धुर्वेलाई !

‘मेरी बूढी पैसा कम कमाइस् भनेर गनगन गरिरन्छे !’ उसलाई खाना खाँदा किनकिन उसकी बूढीको याद आयो । तर, सम्झिँदा पनि गनगन सम्झियो । के प्रतिक्रिया जनाउनुपर्ने हो, खुट्याउन सकिनँ ।

‘कमाको मैमा खर्च गर्छस् त, के भनोस् विचरी !!’

ऊ चुप भयो । उसको मौनता खेलाइरहेँ । मेरो लागि खेलौना न हो ऊ, खुशी खोज्ने खेलौना । उसको मौनता पनि ओढूँओढूँ लाग्छ पानी परेको रातमा !

‘तँ बुझ्दिनस् कुरा, म तिमीहरू दुबैलाई एकै नजरले हेर्दिनँ !!’

‘म तँलाई बुझ्न चाहन्नँ, मसँग भएको बेला बाँड्न पनि चाहन्नँ,’ ऊ फेरि मैतिर कोल्टे फर्कियो । रात छिप्पियो, ऊ पोखियो, रित्तियो अनि मलाई अँगालोमा बेरेर निदायो । रातभरि नै म उसका बारेमा सोचिरहेँ । म उठ्नुअघि नै ऊ उठ्यो, आफ्ना लुगा लगायो ।

********************

‘चिया खान्छस् ?’

उसले टाउको हल्लायो । म अल्छी गर्दै स्टोभसम्म पुगेर पानी तताएँ ।

‘तँलाई मसँग कहिलेकाहीँ त धेरै रिस उठ्दो हो है ?’

‘किन रिसाउनु ?’

ऊसँग उत्तर छैन । उसले चिया सुरुप्प पार्‍यो । उत्तरको मौनतामा उसको चियाको आवाज पनि ठूलो सुनियो ।

‘अब कहिले आउँछस् ?’

‘थाहा छैन !’

‘ला तेरो १९ सय !! बूढीलाई साडी किनेर लग्, खुशी हुन्छे,’ मैले उसको पैसा उसैलाई फर्काइदिएँ । उसले लिन मानेन ।

‘पैसा लाँदैनस् भने फेरि नआइज यहाँ,’ म रिसाए जस्तो गरेँ । मेरो कृत्रिम रिसले उसलाई पगाल्यो । उसले हात पसार्‍यो । मैले पैसा थमाइदिएँ । धेरै बेर मेरो अनुहारमा केही खोजिरह्यो । भेट्टायो, भेट्टाएन थाहा छैन । फरक्क फर्कियो । आफ्नो झोला बोक्यो । तौलिया फेरि यहीँ छुट्यो । फेरि आउँछ भन्ने आशाको त्यान्द्रो !!

ट्रक गुड्यो, मनमा अर्को पत्र धूलो जम्यो । ट्रकको पछाडिको ‘फेरि भेटौँला’ एकचोटि फेरि पढेँ । धुर्वे फेरि पक्कै आउँछ होला !!

Source: http://baahrakhari.com/news-details/38054/2017-09-30


Leave a comment