राजा त्रिभुवनलाई आएको थियो भारतको राजा बन्न प्रस्ताव

विसं २००७ अघि नै राजा त्रिभुवनको स्वास्थ्य उपचारमा सघाउ पुर्‍याउन स्वीट्जरल्यान्डबाट एरिका लुट्याग नेपाल आएकी थिइन् । उनलाई त्रिपुरेश्वरस्थित गेस्टहाउसमा बस्ने प्रबन्ध मिलाइएको थियो । उनको तत्कालीन भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंहसँग गहिरो दोस्ती र सम्बन्ध रहेछ । तिनै एरिकामार्फत राजा त्रिभुवनको भारतीय दूतावाससँग सम्पर्क बढ्यो । एरिकाले राजदूतसँग राजा त्रिभुवनको भेट गराइदिएपछि राजा त्रिभुवन राणा शासनको अन्त्य र प्रजातन्त्र स्थापनाको माग राख्दै सपरिवार नेपालस्थित भारतीय दूतावासमा शरण लिन जाने योजना बन्यो ।

नागार्जुन जंगलमा पिकनिक जाने बहाना बनाएर राजाको टोली आफ्ना लत्ताकपडा र दैनिक उपभोग्य सामान लिएर भारतीय दूतावास प्रवेश गर्‍यो । राजपरिवार दूतावास प्रवेश गरेपछि मात्रै श्री ३ मोहनशमशेरले यो चाल पाए । त्यसपछि दूतावासमा फोन गरेर फिर्ता गर्न प्रयास गरे । भारतीय राजदूतले ‘राजाको इच्छाविपरीत हामी केही गर्न सक्दैनौँ’ भनेपछि उनको प्रयास असफल भयो । राजा र उनको परिवार त्यहाँबाट नयाँ दिल्ली पुग्यो । विशेष विमानद्वारा नयाँ दिल्ली पुगेका राजालाई हैदरावाद गेस्टहाउसमा बस्ने प्रबन्ध मिलाइयो ।

यता मुलुकमा राणाविरोधी आन्दोलन चर्कियो ।

यसबीचमा नयाँ दिल्लीमा पटक–पटक राजा, राणा र नेपाली कांग्रेसका प्रतिनिधिबीच वार्ता र छलफल चल्यो । भारतस्थित नेपाली राजदूत विजयशमशेर, बीपी कोइराला, सुवर्णशमशेर, मातृकाप्रसाद कोइराला र सूर्यप्रसाद उपाध्यायका बीचमा धेरैपटक कुराकानी भयो । तर, राणाहरू प्रजातन्त्र दिन तयारै भएनन् । विजयशमशेर श्री ३ महाराज मोहनशमशेरलाई यथावत् राखी राजपरिवारलाई स्वदेश फर्काउन चाहन्थे । लामो समय राजदूत रहेकाले उनको जवाहरलाल नेहरु, इन्दिरा गान्धी र अरू भारतीय नेताहरूसँग घुलमिल र राम्रो सम्बन्ध थियो । उनी त्यसको राम्रो सदुपयोग गरिरहेका थिए । सायद त्यसैले भारतीय पक्ष राजा, राणा र कांग्रेस कसैलाई पनि चिढ्याउन चाहँदैनथ्यो । सबैलाई मिलाएर अघि बढ्ने ‘रोडम्याप’ थियो उसको ।

यसैबीच हैदरावाद गेस्टहाउसमा एक दिन भारतीय प्रधानमन्त्री नेहरु आफ्ना गृहमन्त्री बल्लभभाइ पटेललाई लिएर राजा त्रिभुवनलाई भेट्न पुगे । राजनीतिक कुराकानीका क्रममा मोहनशमशेर प्रजातन्त्र दिन तयार नहुने, राजा प्रजातन्त्रभन्दा तलको कुरामा सहमत नहुने भएपछि कुरा मिलेन । कि राणासहितको प्रजातन्त्र मान्नुपर्‍यो, होइन भने अन्य विकल्पमा छलफल गर्ने कुरा भयो ।

तीन जनाका बीचमा केही समय कुराकानी भएपछि गृहमन्त्री पटेलले राजा त्रिभुवनसमक्ष सोझै प्रस्ताव राखे, ‘अब राजा त्रिभुवन हिन्दु राजाका रूपमा दिल्लीमै रहनुपर्‍यो, यसो गर्दा सिंगो हिन्दुस्तानको राजा पनि भइन्छ ।’ राजाको मनोविज्ञान बुझ्न हो वा सोचे–सम्झेरै यस्तो प्रस्ताव गरिएको थियो, थाहा भएन । तर, राजा त्रिभुवनले ‘मलाई हिन्दुस्तानको राजा हुनु छैन, नेपालकै ठीक छ’ भन्ने प्रत्युत्तर फर्काएपछि पटेलको अनुहार रातो भयो, नेहरु पनि अवाक् भए । राजा त्रिभुवनले पालैपालो नेहरु र पटेलको अनुहार नियालेको अनुमान गरेपछि नेहरुले भनेका रहेछन्, ‘उहाँ नेपालको नै राजा हो । त्यहाँ प्रजातन्त्र पनि हुन्छ, राजा पनि उहाँ नै हुनुहुन्छ ।’

राजा त्रिभुवनकी कान्छी रानी ईश्वरी राज्यलक्ष्मीदेवी शाहले तत्कालीन ढुकुटी विभागका हाकिम सचिव शारदाप्रसाद प्रधान र मलाई ०३२ सालमा बताएका यी कुरा धेरै अर्थमा अविस्मरणीय छन् । १० दिन लगाएर झन्डै १०/११ घन्टा त्यतिबेला नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा रानीसँग यस्ता धेरै विषयमा कुराकानी गरेका थियौँ । त्यही क्रममा उनले राजा त्रिभुवन भारतीय दूतावास हुँदै नयाँ दिल्ली गएको र त्यहाँ उनलाई ‘हिन्दुस्तानको राजा’ भएर बस्न गरिएको उक्त आग्रह र संवादको प्रत्यक्ष प्रसारणजस्तो सुनाएकी थिइन् । पत्रपत्रिकामा पढेको कुरा प्रत्यक्षदर्शीको मुखबाट सुन्न पाउँदा छुट्टै आनन्द आउँदो रहेछ ।

रानी ईश्वरीका अनुसार तीन जनाका बीच भएको यस किसिमको गोप्य भेटघाटको प्रसंग राजा त्रिभुवनले आफ्ना परिवारका सदस्यहरूलाई पनि सुनाएका रहेछन् । राजाले यस घटनालाई ‘नेपाललाई भारतमा मिलाउने चालजस्तो लागेको’ कुरा परिवारजनसँगको कुराकानीमा व्यक्त गरेका रहेछन् । राजाले भनेको कुरा रानीले हामीलाई सुनाइन्, ‘नेपाललाई हिन्दुस्तानमा गाभेर त्यहाँको राजा हुनुभन्दा नेपालकै राजा हुनुमा मलाई ठूलो गर्व हुनेछ । त्यतिबेला मेरो मनले त्यस्तै भन्यो । भारतीय प्रधानमन्त्री र गृहमन्त्रीलाई मैले त्यही कुरा बताएँ ।’

Source: http://nepal.ekantipur.com/news/2017-08-08/20170808175537.html

Photo source: eKantipur


Leave a comment